काठमाण्डौं। साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ। ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको हो।
उक्त सडक स्तरोन्नतीको लागि प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको लगानी रहेको छ। दिवा–आजाद जेभी बानेश्वर काठमाडौँले ठेक्का लिएको उक्त सडक स्तरोन्नतिको काम करिब ७० प्रतिशत पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ। स्तरोन्नतिको काम भइरहेको सडकखण्डमा दोहोरो गाडी सञ्चालन हुने गरी सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने तथा जाली भर्ने काम सम्पन्न भइसकेको बताइएको छ।
अहिले दक्ष जनशक्तिसहित करिब ७५ देखि ८० कामदार लगाएर तीव्रगतिमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइएकाले आगामी जेठ मसान्तभित्र सबै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई बुझाउने तयारी भएको कम्पनीले जनाएको छ।
सडक स्तरोन्नतिको काम तीव्रगतिमा भइरहे पनि उक्त सडकको गुणस्तरमा कमी भएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन्। स्थानीय बासिन्दाबाट गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि तत्काल ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेर गुणस्तर कायम गर्न र स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।
स्तरोन्नति भइरहेको उक्त सडक सञ्चालनमा आएपछि भोजपुरको टेम्केमैयुङ र रामप्रसाद राई गाउँपालिका तथा खोटाङको साकेला र खोटेहाङ गाउँपालिकाका यात्रु सहजरूपमा राजधानी काठमाडौँ लगायतका जिल्ला आवतजावत गर्न पाउने छन्।