धनुषा। नेपाल रेल्वेको जनकपुरधामस्थित कार्यालयमा पूर्वकर्मचारीले लगाएको ताल्चा सुरक्षाकर्मीले तोडेका छन्।पूर्वकर्मचारीहरूले माघ १३ गते रेल्वे कार्यालयमा लगाएको ताल्चा सोमबार तोडिएको हो।
कुनै प्रक्रिया पूरा नगरी गुपचुप कर्मचारी भर्ना गरेकालाई हटाउनुपर्ने माग राख्दै पूर्वकर्मचारीहरूले रेल्वे कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्दै आएका थिए ।
तालाबन्दीका कारण चार दिनदेखि कार्यालयको कामकाज ठप्प थियो । रेल्वेका महाप्रबन्धक निरञ्जन झाले प्रहरीबाट कार्यालयको ताला तोड्न लगाएका हुन्।
ताला तोडिएसँगै आन्दोलित पूर्वकर्मचारीहरूले प्रशासनविरूद्ध प्रदर्शन गरेका थिए। कार्यालयको सुरक्षार्थ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
तत्कालीन रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई हटाएर प्रक्रियाबिनै ६० जना नयाँ कर्मचारी नियुक्त गरेपछि महाप्रबन्धक झा विवादमा तानिएका छन् ।