काठमाडौं। भारत सरकारको अनुदान सहयोगमा दार्चुलास्थित महाकाली नदीमा भारतको धार्चुला जोड्ने पुल निर्माण गरिने भएको छ। भारतको उत्तराखण्डस्थित धार्चुला र नेपालको सुदूरपश्चिमस्थित दार्चुला जोड्ने उक्त पुल निर्माणको लागि मंगलबार भारतीय पक्षसँग सम्झौता भएको हो।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त मोटरेबल पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डबीच सीमापार कनेक्टिभिटी सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमाका समुदायको सम्पर्कलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
उक्त सम्झौताबारे काठमाडौंस्थित भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। उक्त पुल छिट्टै निर्माण हुने योजना रहेको बताइएको छ। पुलको निर्माण पछि दुई देश विचको सम्बन्ध कायम रहने साथै आवतजावत गर्न सहज रहने आशा गरिएको छ।