मोरङ। कोलकाता बन्दरगाहबाट विराटनगरसम्म कार्गो रेल ल्याउन मोरङका उद्योगीले पहल गरेका छन्। भारतको सीमावर्ती रेल स्टेसन बथनाहाबाट विराटनगरको एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको रेलमार्गमा कार्गो रेल ल्याउन उद्योगीले पहल थालेका हुन्।
मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजालका नेतृत्वमा मोरङका व्यवसायीहरुको एक टोली आइसीपी, विराटनगर भन्सार र रेलमार्गको अनुगमन गरेका छन्। अनुगमनका क्रममा अध्यक्ष रिजालले विराटनगरको आइसीपीसम्म रेलमार्ग आइपुगेको र भारतीय पक्षले त्यस ठाउँमा धमाधम यार्डको निर्माण गरिरहेको बताए।
भारतीय रेलवेले बथनाहादेखि विराटनगरको आइसीपीसम्मको रेलमार्गमा ३ वर्षअघि नै रेल सञ्चालनको सफल परीक्षण गरिसकेको अध्यक्ष रिजालले जानकारी दिए
उनले भारतसित सशक्त कूटनीतिक पहल भएमा आइसीपीसम्म कार्गोरेल ल्याउन सकिने बताएका छन्।
उनले भारतीय पक्षले आइसिपी नजिकको रेल स्टेसनमा आगामी मार्चभित्र पक्की यार्डको निर्माण गरिसक्ने उल्लेख गर्दै धमाधम काम भएमा अप्रिलको अन्तसम्ममा त्यहाँ कार्गोरेल ल्याउन सकिने दाबी गरे।
संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले भौतिक योजना मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, रेल विभाग लगायतका निकायमा संघको टोली नै गएर कार्गो रेल ल्याउन अनुरोध गर्ने बताए।