काठमाडौं। करिब तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै अलपत्र अवस्थामा रहेको छ। सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीयस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो।
डिभिजन सडक कार्यालय काठमाडौंका अनुसार आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने छ। कार्यालयले पहिले कोटेश्वर चोक नजिकै (तीनकुने जाने सडकतर्फ) पुल बनाउन भने पनि त्यहाँ स्थानीयवासीको विवादका कारण बन्न नसकेको बताइएको छ। पुल निर्माणका लागि कतिपयले सुरुकै ठाउँ ठीक छ त्यही गर्नुपर्छ भनेका छन् भने कतिपय स्थानीयवासीले परिवर्तन गर्नुपर्ने बताएका छन्।
एकातिर भक्तपुर र ललितपुरतर्फ जाने सवारीसाधन र अर्कातिर काठमाडौँ उपत्यका बाहिर जाने नाकाका रुपमा कोटेश्वरमा सवारीसाधन र यात्रुको चाप रहेको छ। वाग्मती प्रदेशका विभिन्न जिल्लासँगै मधेस प्रदेश र प्रदेश १ का धेरै यही बाटो भएर ओहोरदोहोर गर्छन्। छोटो र लामो दूरीका सवारीसाधन रोक्ने स्टेशन हुँदा यहाँ आकाशे पुल आवश्यक भएको आवाज वर्षौँदेखि उठिरहेको छ।