काठमाण्डौं। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिजो अपराह्नदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण सूदूरपश्चिमका तीन राजमार्ग बन्द हुनका साथै जनजिवन कष्टकर भएको हो।
यहाँ तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो। बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भएको छ। यसका साथै डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ।
हिमपातका कारण यहाँका तीन राजमार्ग बन्द भएका छन्। बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको ढोल्यामोड क्षेत्रमा भारी हिमपात भएकाले राजमार्ग ठप्प भएको छ। सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोडपे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बताइएको छ।
हिमपातका कारण सवारी साधन रोकिएका छन्। साथै चिसोले जवजिवन कष्टकर बनेको छ। सडक खोल्ने प्रयार भइरहेको जनाइएको छ।