काठमाण्डौं। खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने सडकखण्डको तापखोलामा मोटरेवल पक्की पुल बनाउन सुरु गरिएको छ। प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय १ नं प्रदेश यातायात पूर्वाधार निर्देशनालय र जिल्लास्थित पूर्वाधार विकास कार्यक्रमको संयुक्त लगानीमा उक्त खोेलामा पक्की पुल निर्माणका लागि ढलान गर्न सुरु गरिएको हो।
भ्याटसहित सात करोड ६१ लाख २४ हजार ५४३ को लागतमा ३५ मिटर लामो आठ दशमलव ४० मिटर चौडा पुल निर्माण गरिने जनाइएको छ। ठेकेदार कम्पनी रौता–रोशन–सुशम–आदित्य जेभीले गत मङ्सिर–७ गते नै निर्माण सम्पन्न गर्नुपर्नेमा कोरोना सङ्मणका कारण जनाउँदै समयमै पूरा नगरेपछि पूर्वाधार विकास कार्यक्रमले पुनः छ महिनाको समय दिएको कम्पनीले जनाएको छ।
तोकिएको समयमा पुल निर्माण गर्न र गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिने काम भइरहेको बताइएको छ। विसं २०६६ मा साविक खार्मी गाविसको १४ लाख बजेटबाट निर्माण सुरु गरिएको सो दिक्तेल–खार्मी–बाक्सिला सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो।