धनुषा। आगामी फेब्रुअरी तेस्रो साताबाट धनुषा–जयनगर रेल सञ्चालन हुने भएको छ। रेल्वे निर्माण पूरा भएको लामो समयपछि भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटरको रेल सेवा सञ्चालन हुन लागेको हो।
रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। कम्पनीका अनुसार रेल चलाउन अन्य सबै तयारी पूरा भएको भइसकेको छ।
दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने बताइएको छ।
अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको कम्पनीले जनाएको छ।
रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म सामान्य सिटमा रु ७० र एसी सिटमा रु ३०० भाडा निर्धारण गरिएको छ।