काठमाडौं। पाटन दरबार क्षेत्रस्थित विश्व सम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । ४ करोड ९३ लाख लागतमा भिमसेन मन्दिर पुनःनिर्माण भएको हो।
समुदायको अगुवाईमा पुनःनिर्माण भएको पाटन दरबार क्षेत्रको पहिलो मन्दिर बन्न पुगेको भिमसेन मन्दिर पुनःनिर्माणमा लागेको कूल लागत मध्ये समुदायकै बढी हिस्सा ओगटिएको छ ।
पुनःनिर्माणको लागि एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले १ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ प्रदान गरेको थियो। त्यसैगरी ललितपुर महानगरपालिकाबाट १ करोड रुपैयाँ, ललिपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसाल र क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र वाग्मती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्यको सांसद् विकास कोषबाट आर्थिक सहयोग उपलब्ध गराइएको थियो।
मन्दिर पुनःनिर्माण कार्य २०७५ माघ ७ गते शुरु गरिएको थियो ।बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त दरबार क्षेत्रका मन्दिरहरु मध्ये भिमसेन मन्दिर समुदायले अपनत्व गरी पुनःनिर्माण थालेको पहिलो मन्दिर रहेको समितिका अध्यक्ष कृष्णलाल महर्जनले बताए।मन्दिर पुनःनिर्माणले समितिले अघि सारेको हाम्रो सम्पदा, हामी आफै बनाऔं भन्ने नारा व्यवहारतः स्थापित भएको पनि समितिका अध्यक्ष महर्जनको भनाई रहेको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएको अवसरमा शनिबार धार्मिक पुजाको आयोजना गरिएको थियो ।