बझाङ। जयपृथ्वी राजमार्गको जाल्या बगरमा सडक निर्माण कार्य सुरु भएको छ। असोजमा आएको अविरल वर्षा पछीको बढीले क्षति गरेको सडकमा निर्माणको काम सुरु भएको हो।
गएको असोज ३१ गते देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जाल्याबगरमा सडक पूर्ण रुपमा क्षति गरेको थियो। ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीले ५ करोड ६० लाखको लागतमा अहिले यो सडक निर्माणको कार्य सुरु गरेको हो।
सडक डिभिजन बैतडीले ७ करोड ५० लाख रुपैयाँको टेन्डर आह्वान गरेको भए पनि ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीले भ्याटसहित ५ करोड ६० लाख रुपैयाँमा ठेक्का पाएको बताइएको छ। बैशाख अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ।
सम्झौता भएको समयभन्दा अघि नै सडक निर्माणको कार्य सम्पन्न गर्ने तरिकाले तीव्र गतिमा काम गरिरहेको निर्माण कम्पनीले बताएको छ। कम्पनीका अनुसार अहिले ७० जना भन्दा बढी कामदार र ४ वटा जेसीबी लगाएर काम भइरहेको छ, फागुनको पहिलो हप्ताभित्र आरसीसीको काम समेत सुरु हुनेछ।