काठमाडौं। तातापानी–घाटगाउँ जोड्ने भेरी नदी माथिको कोसेनीघाट पुल निर्माण अन्तिम चरणमा पुगेको छ। कुइने–बिजौरा–गुटु–बेनीघाट हुँदै डोटी जोड्ने उद्देश्यले निर्माण शुरू गरिएको उक्त पुल सञ्चालनको तयारीमा रहेको हो।
कोरोना महामारीका कारण निर्माण सामाग्री अभावमा रोकिएको पुलको कामले हाल अवस्था सामान्य बन्दै गएपछि निर्माणको कामले तिब्रता पाएको हो। उक्त पुल निर्माणको ठेक्का अनक–लुम्बिनी जेभीले पाएको थियो। निर्माण कम्पनीका अनुसार अहिलेसम्म करीब ९० प्रतिशत निर्माण सम्पन्न भएको छ।
तोकिएको समयभन्दा ६ महीना पहिले नै पुल निर्माण सकेर सरकारलाई जिम्मा दिने लक्ष्य भएको भएता पनी बीचमै कोरोना कहरले निर्माण सामग्री, मजदूर अभावलगायतका कारणले काममा ढिलाइ भए पनि अब अहिले स्थिति सामान्य बन्दै गएपछि पुल निर्माणले गति पाएको कम्पनीले जनाएको छ।
अनक–लुम्बिनी जेभीले ४ वर्षभित्र पुल निर्माण गरिसक्ने गरी २०७४ मङ्सिरमा सडक विभाग, पुल महाशाखासँग भ्याटबाहेक ३४ करोड ४३ लाख रुपैयाँमा सम्झौता गरेको थियो। पुलको लम्बाइ ३०३ मिटर र चौडाइ ११ मिटर रहेको छ।
उक्त पुल निर्माणसँगै पश्चिम सुर्खेतका गाउँहरूसँगको कनेक्टिभिटी बढ्ने स्थानीयले बताए। पुल निर्माणले घाटगाउँ र कुइनेबीच जीवन्त सम्पर्क हुने मात्र होइन, वर्षाको भेलमा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता समेत अन्त्य हुने उनिहरुले बताए।