काठमाण्डौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छन। साेमबार सडक अवलोकन गर्न पुगेकी मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले साे अवधिमा सम्पन्न गर्न समस्या नरहेको बताएकी हुन्।
विस्तारका क्रममा रहेको उक्त सडकमा केही ठाउँमा निर्माणस्थल खाली हुन नसकेकाले ५।६ वर्षसम्म काम नभएको उनले बताइन। अहिले निर्माणस्थल खाली गरिसकिएकाले चैतसम्ममा सम्पन्न हुने उनको भनाइ छ। उनका अनुसार केही समय पहिलेसम्म सडकमा नै घर, पर्खाल लगायतका संरचना थियो। त्यो हटाउनेसँगै सडकमा रहेका पाइप, ढल हटाइ सकिएकाले अहिले काम द्रुत रहेको उनले बताइन।
अब सडकमा कालोपत्र मात्रै बाँकी भएकाले दुई महिनामा काम सकिने उनको भनाइ रहेको छ। सो सडक दुई ठेक्कामा निर्माण भइरहेकामा दुवै ठेक्कामा निर्माण अघि बढिरहेको छ। दुवै ठेक्कामा संलग्न निर्माण कम्पनीहरुलाई सडक चैतसम्म सक्न निर्देशन दिइएको छ। केही महिनादेखि मन्त्रालय टोली निर्माणाधीन सडकको अनुमगनका लागि खटिएको र ठाउँठाउँमा पुगेर त्यहाँको सडकको अवस्थाका बारेमा जानकारी लिइरहेको उनले बताइन।
आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो। पहिलो ठेक्काको सम्झौता विसं २०७३ असारमा र दोस्रो ठेक्का सम्झौता विसंं २०७४ साउनमा भएको थियो। अहिलेसम्म दुवै ठेक्काको भौतिक प्रगति ७०।७० प्रतिशत पुगेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।