पूर्वी नवलपरासी। महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने गैंडाकोट सडकमा पर्ने पुल निर्माणको काम धमाधम अघि बढेको छ। उक्त खण्डमा पर्ने साना २ सय २१ कल्भर्डमध्ये ८१ वटा अन्तिम चरणमा पुगेको हो।
यसैगरी अन्य ८४ वटामा काम भइरहेको छ। उक्त खण्डमा पर्ने २२ वटा साना पुल (माइनर ब्रिज) मध्ये १५ वटा निर्माण भइरहेको छ। दाउन्नेदेखि गैंडाकोटसम्मको ६५ किलोमिटर क्षेत्रमा रहेका २५ मिटरभन्दा लामा १२ वटा पुलमध्ये ७ वटामा जग राख्ने काम सकिएको छ। अन्य ५ वटामा फागुनमा पुलको जग खन्ने काम सुरु गर्ने बताइएको छ।
वर्षाअगावै १७ किलोमिटर सडक सम्पन्न गरेर यातायात सुचारु गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ। राजमार्ग विस्तार गर्ने क्रममा सबै खाल्डामा पिच गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदार कम्पनीले हेल्चेक्र्याई गर्दै आएको छ। राजमार्गमा जताततै खाल्डा भएका कारण हिँड्न जोखिम बढेको छ।
निर्माणका क्रममा धुलो उडेको स्थानमा पानीले भिजाएर धुलो नउड्ने गराउनुपर्ने भए पनि पानी नहालेका कारण बजार क्षेत्रमा धुलै धुलोले हिँड्नै नसकिने अवस्था छ। बुटवल–नारायणगढ सडक विस्तारको जिम्मा १७ अर्बमा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनिरिङ कर्पोरेसनले काम थालेको करिब ४ वर्षको अवधिमा ११ प्रतिशतमात्र काम सम्पन्न गरेको छ।