रौतहट। चन्द्रपुर नगरपालिकाको गैडाटार स्थित चांदी नदिमा पुल निर्माणमा ढिलाई भएको छ। पुल निर्माण गर्न पटक–पटक म्याद थप भए पनि निर्माण सम्पन्न नभएको हो।
पुल निर्माण नहुँदा वर्सेनि बाढीको बेला गैँडाटारबासीले चन्द्रनिगाहपुर बजार आउजाउ गर्न निकै समस्या हुने भन्दै स्थानीयले गुनासो गरे। दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त पुलको काम आधा मात्र सकिएको छ।
ठेकेदारले एक वर्षअघिदेखि काम नगरे पछि गैँडाटारबासीले संघर्ष समिति नै बनाएर सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको थियो। पुल बनाउने ठेकेदार, सडक कार्यालयलाई पटक–पटक ताकेता गरेपछि ठेकेदारले काम सुरु गरे पनि सुस्त गतिमा काम भइरहेको स्थानीयले बताए।
ठेकेदारको लापर्बाहीले पुल निर्माणमा ढिलाइ भएको बताइएको छ। सडक कार्यालय, नगरपालिका, संघीय, प्रदेश सांसदहरू, सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएकोमा ठेकेदारले यस आर्थिक वर्षमा सम्पन्न गर्ने प्रतिबद्ता जनाए पनि काम सुस्त गतिमा भइरहेको बताइएको छ।
डिभिजन सडक कार्यालय चन्द्रपुरले पुल निर्माणमा ढिलाइ भएको स्विकार गर्दै, थपिएको समयमा काम नसके निर्माण कम्पनीविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ।
चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने पुलको २०७३ पुसमा शिलान्यास गरिएको थियो। पुल बनाउन पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा ठेक्का लिएको थियो। ११ वटा स्पाम रहेको पुल २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो। पुलको हालसम्म करीव ६० प्रतिशत मात्र काम सम्पन्न भएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जनाएको छ।