काठमाण्डौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुद्धसिं मार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन। मुख्यमन्त्री पोखरेलले हिजो बुद्धसिं मार्गको अवलोकन गर्दै सङ्घीय सरकारसँग समन्वय गरी सडकको स्तरोन्नति गरेर सञ्चालनमा ल्याइने बताएका हुन्।
पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा लामो समय लाग्न सक्ने हुँदा छिटोभन्दा छिटो यस मार्गलाई सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको उनले जानकारी दिए।
“सडक विस्तारका क्रममा सवारी साधन गुड्न कठिनाइ हुन सक्छ”, उनले भने , “यो मार्गलाई व्यवस्थित गर्न सकिए निर्बाधरूपमा सवारी साधन गुडाउने कार्यलाई सहज बनाउन सकिन्छ।”
दमौलीबाट चितवनको घुमाउनेघाट पुग्न पृथ्वी राजमार्गको बाटोभन्दा बुद्धसिं मार्ग हुँदै जाँदा करिब १८ किलोमिटर दूरी छोटो पर्दछ। दमौलीबाट पृथ्वी राजमार्ग हुँदै मुग्लिनसम्म ४२ किलोमिटर दूरी रहेकोमा बुद्दसिं मार्ग हुँदै गएको खण्डमा १८ किमी छोटो दूरीमा पर्ने हुँदा आवतजावतमा छिटो र सहज हुने बताइएको छ।
गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख बजेट विनियोजन भएपछि बुद्धसिं मार्गको स्तरोन्नतिको कार्य धमाधम भइरहेको बताइएको छ।