काठमाडौं। मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पुर्याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेको छ। गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको हो।
मेलम्ची खानेपानी आयोजनाका अनुसार मुहानस्थल अम्बाथान मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको छ। बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटरसम्म पुरिएको थियो। चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गतेदेखि उक्त काम गरिरहेको छ।
बाढीले आयोजनाको मुख्य प्रवेशमार्गको आठ किलोमिटर सडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो। नदीको सतहबाट दुई किमिसम्म ढुङ्गा, गिट्टी, बालुवालगायतका पदार्थले पुरिएको छ। हाल १२ वटा डोजर, स्काभेटर र २२ वटा टिप्पर प्रयोग गरेर आयोजनास्थलमा जम्मा भएका गेग्य्रान, बालुवा, ढुङ्गा हटाउने काम भइरहेको छ।
मुहानस्थल अम्बाथान बालुवा, गिट्टी भेटिएको छ तर तल्लो क्षेत्रमा ठूलाठूला ढुङ्गा भेटिएपछि विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था भएको आयोजनाले बताएको छ।