काठमाडौं। रुकुम पश्चिमको मुसिकोटमा वि.स. २०३४ सालमा स्थापना भएको बालमन्दिरको जीर्णोद्धार गर्न सुरु गरिएको छ। ऐतिहासिक सम्पदाको रूपमा रहेको बालमन्दिर जीर्ण बन्दै गएपछि स्थानीय सरकारको पहलमा जीर्णोद्धार गर्न लागिएको हो।
रुकुम पश्चिमको मुसिकोटमा रहेको बालमन्दिरको अवस्था पनि विगत केही वर्षदेखि लथालिंग बन्दै गएको थियो। तर स्थानीय नागरिकको जनगुनासो बढ्दै गएपछि झण्डै २० लाख रकममा बालमन्दिर जीर्णोद्धार कार्य सुरु गरिएको मुसिकोट नगरपालिकाले बताएको छ।
लामो समयपछि जीर्ण बनेको बालमन्दिर मर्मतसंभारले हाल निरन्तरता पाउँदा स्थानीयबासीले सरकारको कामलाई ढिलै भए पनि सह्रानीय कार्यको रूपमा लिएका छन्। तर पनि थोरै बजेटले मात्र बालमन्दिरको जीर्णोद्धार कार्य पूरा नहुने भन्दै यसको दीर्घकालीन जगेर्नाका लागि सरकारले पर्याप्त बजेट लगानी गर्नुपर्ने स्थानीयको भनाइ छ।
बालमन्दिर जीर्णोद्धारका लागि मुसिकोट नगरपालिकाको पहलमा हाल रंगरोगन, पर्खाल निर्माण लगायतको काम निरन्तर भइरहेको नगरपालिकाले जनाएको छ। मर्मतसंभारको काम सम्पन्न भएमा बालमिन्दरको संरक्षणसँंगै मुहार फेरिने विश्वास गरिएको छ।