जनकपुरधाम। लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। आजबाट सो रेल नियमित रुपमा सञ्चालन हुने भएको हो।
रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समयमा रेल सञ्चालन हुन भने सकेको थिएन। तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ। भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
अब रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आइतबारदेखि रेल सञ्चालन हुने भएको हो। आज आइतबारदेखि नियमित रूपमा सञ्चालन हुने रेल सेवामा तत्काल बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्ने बताइएको छ। हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा दिने कम्पनीले जनाएको छ।
६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको बताइएको छ। विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको छ।
नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो। नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ। रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने बताइएको छ।