काठमाडौं। दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार छलफलका सहभागी वक्ताहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवद्र्धनका अन्य क्षेत्रमा लगाउन स्थानीय तहलाई आग्रहसमेत गरेका हुन्।
निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र स्थानीय तहमा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माण गर्न सकिने उनिहरुले बताए। पर्यटन क्षेत्रमा नयाँ–नयाँ सीपयुक्त जनशक्ति आवश्यक पर्नेमा त्यसअनुसारका जनशक्ति उत्पादन हुन नसकेको र यस सम्बन्धमा शिक्षण संस्था र पर्यटन व्यवसायीबीच छलफलसमेत हुन नसकेको उनिहरुको भनाई छ।
आर्थिक समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले यसलाई माथि उठान विशेष नीतिका साथ कार्यक्रम ल्याउन जरुरी भएको बताइएको छ। वैदशिक मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने सम्बन्धमा राज्यले पर्याप्त लगानी नगरेको जनाइएको छ।