काठमाडौं। जनकपुर–जयनगर रेलको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने तयारी गरिएको छ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको हो।
भर्चुअल विधिबाट उद्घाटन गर्नका लागि दुई देशका कुटनीतिज्ञबीच छलफल भइरहेको महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।
प्राविधिक परीक्षणको रुपमा आइतबारबाट कुर्था–जनकपुर–जयनयरसम्म रेल सेवा सञ्चालन शुरु भएको छ। एक–दुई दिनभित्र उद्घाटनको मिति तय हुने बताइएको छ।
रेल उद्घाटन नहुञ्जेल दिनको एकपटक आउने–जाने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २–३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी रहेको छ।
भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा रेल सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट डेमो ट्रेन खरिद गरी ल्याइएको थियो ।