काठमाडौं। बाजुराको बडिमालिका नगरपालिका –८ का झण्डै चार सय घरपरिवारको घर–घरमा खानेपानीको धारा निर्माण भएको छ। घरघरमा धारा निर्माण भएपछी स्थानीय हर्षित भएका छन्।
बडिमालिका नगरपालिकाले आर्थिक बर्ष २०७६–७७ सालमा झण्डै चार करोड रुपियाँको लागतमा सो वडामा ‘एक घर एक धारा’ निर्माण कार्य सुरु गरेको थियो। घण्टौंको बाटो हिँडेर पानी ल्याउन बाध्य हुँदैआएका स्थानीय अहिले घरमै शुद्ध खानेपानी पाएपछि खुसि व्यक्त गरेका छन्।
यसअघि गाउँमा खानेपानीको एउटा मात्र धारा थियो। त्यो धारामा पानी ल्याउन जाँदा बिहानभरी पालो कुर्दै बस्नुपथ्र्यो, अहिले घरमै धारा निर्माण भएपछि निकै सहज भएको बताइएको छ। बडिमालिका नगरपालिकाको राप्का, ठेकघर, राप्काथापाबाडा, बाँसठाना, मार्तडी खोलाघर, कोलडाँडा, बनघर, गडखेत, ऐडीबाडा, बाउँली लगायतका चार सय घरमा धारा निर्माण कार्य सम्पन्न भएको बडिमालिका नगरपालिकाले जनाएको छ।