गुल्मी। गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङको दुनाम खोलामा पुल निर्माण गरिएको छ। सृजनशिल सामुदायिक विकास केन्द्रको सामाजिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो।
नेकपा एमालेका केन्द्रिय सचीव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । पुलको उद्घाटन गर्दै बिष्टले स्थानीय तहमा आउँदा स्थानीयसंग गरिएको चुनावी बाचा पूरा गरिएको बताए ।
क्षेत्रगत कार्यक्रमको २४ लाख २६ हजार, मालिका गाउँपालिकाको १ लाख ७० हजार र स्थानीय जनश्रमदानबाट पुल निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ।
४५ मिटर लामो पुल निर्माणका लागि ०७६ साल मंसिरमा सम्झौता भएको थियो । पुल निर्माण भएपछि एक सय दुई घरपरिवार लाभान्वित भएका छन् ।
पुल बनेपछि स्थानीयसंगै च्यानडाँडा माबिमा अध्ययन गर्ने विद्यार्थी सबैभन्दा खुशी भएका छन् । उनीहरुलाई बर्खामा खोला बढे विद्यालय पुग्न र फर्किन निकै जोखिम थियो । विद्यालय आउँदा जाँदा बर्खामा खोलाको कारण कैयौं घन्टा कुर्नुपर्ने बाध्यता पुल निर्माणसंगै अन्त्य भएको विद्यार्थीले बताएका छन् ।