पर्वत। पर्वतको जलजला र म्याग्दीको बेनी जोड्ने बेलिब्रिज निर्माण गरिने भएको छ। जलजला–२ र ३ मा पर्ने बगरफाँट र बेनी जोड्ने बेलिब्रिज निर्माण गरिने भएको हो।
गत असारमा कालीगण्डकीमा आएको बाढीले माटेपानीमा एक सय मिटर सडक कटान गरेर बगाएपछि बेनीदेखि बगरफाँट जोड्ने सडक आठ महीनादेखि अवरुद्ध छ ।
पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुनर्निर्माण भएको छैन । यसअघि पनि वर्षेनि हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो ।
प्राविधिक हिसाबले माटेपानीको भीरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलदेखि बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष रवि भण्डारीले बताए ।
तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुल पनि जीर्ण बनेको छ । मानिस झोलुंगे पुलबाट आवत जावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटबासी बताउँछन्।
यसैबीच सडक डिभिजन कार्यालय बागलुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर विजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भावित ठाउँको निरीक्षण गरेको छ । निर्माणस्थलमा जग्गा विवाद नभएको प्रतिबद्धता र प्राविधिक रूपमा उपयुक्त भएमा बजेट व्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रिया अघि बढाउने बताइएको छ।