काठमाडौं। फास्ट ट्रयाकको निजगढदेखि राजदमारसम्म २० किलोमिटर सडक निर्माणको ठेक्का तीन वटा चिनियाँ कम्पनीले पाएका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन फास्ट ट्रयाकको निजगढ(राजदमार क्षेत्रको सडक चार लेनको बनाउने ठेक्का तीन वटा चिनियाँ कम्पनीले पाएका हुन्।
निजगढ–राजदमार क्षेत्रलाई तीन खण्डमा भाग लगाइएको छ। यिनै तीन खण्ड निर्माणको ठेक्का तीन चिनियाँ कम्पनीले पाएका हुन्। सेनाले यसबारे औपचारिक जानकारी भने दिएको छैन।
निजगढतर्फको खण्डको जिम्मेवारी चिनियाँ कम्पनी सिएएमसीले पाएको बताइएको छ। बीचको खण्डको ठेक्का पोलिच्याङ्दी इन्जिनियरिङले पाएको छ। यो कम्पनीले फास्ट ट्रयाकअन्तर्गत धेद्रे र लेन डाँडाको सुरूङ बनाइरहेको छ।
त्यस्तै, राजदमारसम्मको ठेक्का सान्दोङ लुछिआओको नेपाली साझेदार कम्पनी श्रेष्ठ रोशन जेबीले पाएको छ।
निजगढ खण्डको चार लेनको सडक बनाउन करिब १० अर्ब रूपैयाँ लाग्ने बताइएको छ। बीचको खण्ड ८ अर्बको रराजदमार खण्डको सडक बनाउन २० अर्ब रूपैयाँ हाराहारीको ठेक्का लगाइएको बताइएको छ।
अहिलेसम्म फास्ट ट्रयाकअन्तर्गत पाँचवटा ठेक्का लगाइएका छन्। ती सबै चिनियाँ कम्पनीले पाएका छन्।
फास्ट ट्रयाकमा साढे ६ किलोमिटर सुरूङ निर्माण हुनेछ। यसलाई सेनाले दुई भागमा विभाजन गरेर ठेक्का लगाएको छ। महादेवडाँडामा बन्ने साढे ३ किमी सुरूङका लागि चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको छ। दोस्रो प्याकेजअन्तर्गत धेद्रेमा १।६ किमी र लेनडाँडामा १.४ किमी सुरूङ बनाउने ठेक्का पोलिच्याङ्दी इन्जिनियरिङले पाएको छ।