दोलखा। भीमेश्वर नगरपालिकामा सञ्चालित चरीकोट सहरी खानेपानी तथा सरसफाइ आयोजनामा ढिलासुस्ती र गुणस्तरहीन काम भएको आरोप लगाइएको छ। निर्माण कार्यमा निर्माण व्यवसायीले कमसल सामाग्रीको प्रयोग गरेको र काम पनि ढिलो गरेको स्थानीयले आरोप लगाएका हुन्।
गुणस्तरहीन काम गरेको भन्दै निष्पक्ष परीक्षण गरेर आवश्यक कारबाही गरी मापदण्ड अनुसारको काम गर्न निर्माण व्यवसायीलाई सचेत बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।
सन् २०१९ मार्च २९ मा ६३ करोड रुपैयाँमा आयोजनाको काम गर्ने गरी जेएन टीसीजी एमएसएनएस जेभीसँग ठेक्का सम्झौता भएको थियो ।कोरोनाका कारण भन्दै दुई पटक म्याद थपे पनि आगामी चैत ९ गते म्याद सकिँदै छ ।
काम अझै करिब २० प्रतिशत बाँकी रहेको छ । निर्माण व्यवसायीसँग परामर्शदाता बीडीए जेभी एन्ड उदय कन्स्ट्रक्सन मिलेको र आयोजनाले आँखा चिम्लिदिएकाले गुणस्तरहीन काम गरी ७५ प्रतिशत भुक्तानी पनि लिइसकेको स्थानीयको आरोप छ।