काठमाडौं। भौगोलिक हिसाबले जिल्लाकै दुर्गम मानिने तमानखोला गाउँपालिकाले पछिल्लो चार वर्षमा एक हजार २०० धारा निर्माण गरेको छ। गाउँपालिकाले पानीको अभाव रहेका गाउँलाई केन्द्रित गरेर बिभिन्न परियोजना सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाले अझै एक हजार घरपरिवारका लागि एक घर एक धारा पुर्याउन बाँकी छ। तमानखोला –२ को खोलेस्बाङमा पछिल्लोपटक सुरु भएको सबैभन्दा ठूलो खानेपानी आयोजना चलिरहेको छ। खोलेस्बाङ विष्णुमाया घर्तीले पानीको धारा बनाउन आफैँले गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, खानेपानीको पाइप लाइन खन्ने काममा खटेको बताएकी छन्।
गाउँमा लामो समयदेखि खानेपानीको अभाव थियो। अभाव टार्न उनीहरुले दुई वर्षदेखि खानेपानीको आयोजना निर्माण गर्दैछन्। दुई वर्षअघिदेखि सुरु भएको आयोजना पूरा हुने चरणमा पुगेको छ। स्थानीयवासीले खेपेको दुःखबाट दाता खोज्ने क्रममा संस्था भेट्टाएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर घर्तीले बताए। उनले बिद्यालय, सामुदायिक भवनसहित घर–घरमा धारा जडान गरेर उपभोक्तालाई शुद्ध पानी खुवाउन लागेको जानकारी दिए।
रु ६० लाख संस्थाको लगानी भएको आयोजनामा स्थानीयवासीको श्रमदानसमेत गर्दा रु एक करोड बढी लागत लागेको बताइएको छ। उक्त आयोजनाबाट १४७ धारा जडान हुने बताइएको छ। तीमध्ये पाँच विद्यालय, आमा समूह, सामुदायिक भवन छन्।