झापा। भद्रपुर–१० स्थित चन्द्रगढीमा पुनः निर्माण गरिएको काली मन्दिरको उद्घाटन गरिएको छ। मन्दिरको शनिबार विशेष पूजाआर्चना गरी उद्घाटन गरिएको हो।
उक्त मन्दिरको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका हुन्। पञ्चकन्या सहितका बटुकले स्वस्तिवाचन वाचन गरेपछि मेयर श्रेष्ठले विशेष पूजाआर्चना गरी मन्दिरको उद्घाटन गरेका हुन्।
सङ्घीय सरकारको ९ लाख, भद्रपुर नगरपालिकाको २७ लाख र दाताहरूको सहयोगमा १ करोड ५२ लाखको लागतमा मन्दिर पुनः निर्माण गरिएको काली मन्दिर निर्माण समितिका संयोजक भीम पौडेलले बताए।
२०७६ साल मङ्सिर २१ गते शिलान्यास गरिएको मन्दिर २७ महिनामै पुनःनिर्माण गरी सञ्चालनमा ल्याएको बताइएको छ। प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले मन्दिर पुनःनिर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
वि.सं. २०२१ मा बाँसको टाटी बेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको थियो। मन्दिर जीर्ण भएपछि काली मन्दिर व्यवस्थापन समितिले स्थानीयस्तरको सहयोगबाट मोरङको रङ्गेलीस्थित काली मन्दिरजस्तै भव्य मन्दिर बनाएको छ।