भक्तपुर। भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार सकिएसँगै सर्वसाधारणका लागि खुला गरिएको छ। पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरी सर्वसाधारणका लागि खुला गरिएको हो।
पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका थिए। पहिले नेपाली सेनाको कब्जामा रहेको पोखरी घाँसे मैदानको रूपमा थियो । तर अहिले त्यही पोखरीलाई आकर्षक बनाइएको छ । रानीपोखरी १५ सय रोपनी ५ आना २ पैसा नापीमा उल्लेख छ । यसको उत्तरमा तीन सय ७७ फिट, दक्षिणमा तीन सय ७६, पूर्वमा दुई सय २१ फिट र पश्चिममा दुई सय २० फिट रहेको छ ।
रानीपोखरीको काम डिजाइनअनुसार नभईकन उत्खननको आधारमा अघि बढाएको थियो । रानीपोखरीमा पुनः निर्माण मात्र नभई जिर्णोद्धार र नवनिर्माणको काम भएको भक्तपुर नगरपालिकाले जनाएको छ । नागको अवशेष राख्ने ठाउँ जिर्णोद्धार गरिएको छ भने नाग नयाँ बनाएर हालेको हो । पर्खाल, पेटी, बाटो, डबली नवनिर्मित हुन् भने उत्तर र दक्षिण खण्डको दबु जिर्णोद्धार गरिएको हो ।
रानीपोखरीको सुरुआतमा घाँस मात्र सफा गर्न नगरपालिकाले ८५ लाख स्टिमेट गरेको थियो । जसमा १७ लाख १६ हजार ३ सय ७४ रुपैयाँ खर्च भएको जनाएको छ । रानीपोखरीको पुनर्निर्माण १ माघ ०७५ बाट शुरु भएको थियो ।
पोखरीका लागि कुल चार करोड ४१ लख १९ हजार एक सय ६४ रुपैयाँं २९ पैसाका लागत स्टिमेट निकालिएको थियो । तर लागत स्टिमेटभन्दा झन्डै आधा खर्चमै काम सकेको भक्तपुर नगरपालिकाले जनाएको छ । कुल दुई करोड ५४ लाख ८३ हजार पाँंच सय ८७ रुपैयाँं ४७ पैसाबाट काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिबाट काम भएकाले लागतभन्दा आधा सस्तोमा काम सकिएको हो ।