मोरङ। विराटनगरको वीरेन्द्र सभागृह पुनर्निर्माण भइरहेको छ। कुल २० करोड रुपैयाँ लागतमा सभागृहको स्वरूप परिवर्तन नहुने गरी भवन पुनर्निर्माण भइरहेको हो।
सभागृहको पुरानो भवन प्रबलीकरणसँगै परिसरभित्र नयाँ भवनको निर्माण पनि भइरहेको छ। महानगरपालिकाले नगर विकास कोषको लगानी साझेदारीमा सभागृह पुनर्निर्माण अघि बढाएको हो । कोषले १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ भने प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । सभागृह पुनर्निर्माणको ठेक्का समानान्तर जोशी र श्री ब्यांक्वेट जेभीलाई दिइएको छ ।
भूकम्प प्रतिरोधी समाज एनसेट नेपालको पर्यवेक्षणमा निर्माणाधीन योजनाको डिजाइन अरनिको डिजाइनर प्रालि काठमाडौंले गरेको छ । आगामी मङ्सिरसम्ममा सम्पन्न गरिसक्नुपर्ने सभागृहको कामलाई केही समययता निर्माण कम्पनीले पनि तीव्रता दिएको छ ।