दाङ। सम्झौता अनुसार सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी भएको छ। निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएको हो।
उक्त सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो। सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्योलमा परेको छ।
असार २०७६ मा सुरु भइ वैशाख २०७८ मा सडक निर्माण सम्पन्न भैसक्नु पर्ने थियो तर, सडक आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष हुनै लाग्दा वित्तीय प्रगति १४ प्रतिशत र भौतिक प्रगति सात प्रतिशत मात्र छ।
सडक निर्माण नहुँदा जिर्ण बनेको सडक खण्डमा दुर्घटनाका कारण डेढ दर्जन नागरिकले ज्यान गुमाइसकेका छन् भने थुप्रै भौतिक क्षति भएको छ। अब पनी आश गरेर बस्ने हो भने अझै जोखिम बढ्ने आयोजनाको भनाई छ। आयोजनाकाका अनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु गइसकेको र यसका लागि सुरुमा स्पष्टिकरण सोधिने छ। पटक पटक काम गर्छु भन्दै ढिलासुस्ती गरेकाले अब ठेक्का तोड्नुको विकल्प नभएको आयोजनाले बताएको छ।
सडक आयोजनाले ठेकेदार कम्पनीसँग पेश्की रकम फिर्ता लिने प्रक्रिया समेत सुरु गरेको छ। आयोजनाले रकम फिर्ता लिन खोजेपछि निर्माण कम्पनीका प्रतिनिधिले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा अदालतले आयोजनाकै पक्षमा अन्तरिम आदेश दिएको छ।
पेश्कीस्वरुप १२ करोड रुपैयाँ दिएको र दुई करोडको भुक्तानी भैसकेकाले १० करोड रुपैयाँ फिर्ता लिने प्रक्रिया सुरु भएको बताइएको छ।