काठमाडौं। गुल्मीमा साढे ५ किलोमिटर लामो सडक खन्न लागेको करिब१४ वर्ष हुँदा पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन। उपभोक्ता र सरकारसमेत गरी हालसम्म झण्डै सवा करोड खर्च भइसकेको सडकमा अहिलेसम्म भएको लगानी बेकाम भएको हो।
सडकको ट्रयाक खोलिए पनि निर्माण अझै अलपत्र अवस्थामै छ। रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित खोरपाटा–डाँडाखर्क–रातचौर मोटरबाटो अलपत्र परेको हो। उक्त सडकमा ठाउँठाउँमा पहिरो गएर क्षति भएको छ भने एकातिर बनाउँदै जाने, अर्कोतिर भत्किँदै जाने अवस्था छ।
स्थानीयवासीका अनुसार आर्थिक वर्ष २०६४।०६५ सालमा साविक अर्खले गाविसबाट ९० हजार विनियोजन गरी उक्त मोटरबाटो खन्न सुरु गरिएको थियो।
नेपाली काँग्रेसका नेता खिलध्वज पन्थी र माओवादीका नेता ठाकुर प्रसाद पाण्डेको पहलमा उक्त सडक निर्माण योजनालाई दोस्रो वर्ष रातो किताबमा पारिएको थियो। त्यसलगत्तै साविक जिल्ला विकास समिति मार्फत एक करोड खर्चिएर सडक निर्माणको काम भयो। उपभोक्ताले पटक पटक गरी १० लाख रुपैयाँ संकलन गरी मोटरबाटोमा खर्च गरे। तर झण्डै सवा करोड खर्चिदा पनि काम अलपत्र बनेको छ।
पूर्ववर्ती सरकारले उक्त सडक निर्माण योजनालाई रातो किताबबाट हटाएपछि स्थानीय उपभोक्ता थप निराश भएका छन्।