दाङ। तुलसीपुर–अमिलिया सडकखण्डअन्तर्गतको तुलसीपुर बजारको बाहिनी चोकदेखि मदन–आश्रित चोकसम्मको सडक मर्मत अलपत्र अवस्थामा छ। पुस महिनादेखि मर्मत सुरु गरिएको उक्त सडक तीन महिना बित्न लाग्दासम्म पनि अलपत्र अवस्थामै रहेको हो।
तुलसीपुर बजारको मुख्य सडकलाई मर्मत गर्ने भन्दै निर्माण कम्पनीले सडकको कालोपत्रे उप्काएर फालेको छ। तर कालोपत्रे उप्काएर फाले पनि मर्मत कार्यलाई भने अलपत्र अवस्थामा छाडेकोले उक्त सडकमा हिँड्ने पैदलयात्री, स्थानीय नगरवासी धुलोका कारण आजित भएका छन्।
तुलसीपुरका व्यापारीले आफ्नै लगानीमा दैनिकजसो उक्त सडकमा पानी हाल्ने गरेका छन्। तर हिजोआज गर्मीयाम सुरु भएकाले पानी हालेको केही घन्टा नबित्दै पुनः धुलो उड्ने गरेको व्यवसायीहरु बताउछन्।
सडक डिभिजन कार्यालय दाङका अनुसार ठेकेदारको लापरबाहीका कारण सडक निर्माण अलपत्र भएको हो। उक्त सडक मर्मतको जिम्मेवारी पाएका सवइन्जिनियरका अनुसार ग्रेडर बिग्रिएर काममा ढिलाइ भएको हो।
सडक निर्माण ठेक्का पुष्पाञ्जली पिएस प्रा.लि.ले लिएको छ भने उसले ईश्वरी कँडेल भन्ने ठेकेदारलाई उक्त सडक निर्माणको जिम्मा दिएको बताइएको छ। तीन करोड ३५ लाख ९४ हजार पाँच सय ५४ रुपैंया (भ्याटसहित) मा ठेक्का सम्झौता भएको बताइएको छ। उक्त सडक यही चैत मसान्तसम्म सक्नुपर्ने गरी सम्झौता छ।