पाल्पा। तानसेन नगरपालिका– २, नारायणस्थानस्थित २ सय १५ वर्ष पुरानो मन्दिर भत्किएको छ। सो मन्दिर मर्मतको चार वर्ष नपुग्दै भत्किएको हो।
तत्कालीन काजी अमरसिंह थापाले निर्माण गरेको अमरनारायण मन्दिर बुधबार भत्किएको बताइएको छ।
मन्दिरको दक्षिण र पूर्वतर्फको पहिलो तलाको झिंगटीको छानासहितको भाग खसेको पुजारीले बताएका छन। नेपाल–अंग्रेज युद्धको समयमा १८६३ सालमा मन्दिर निर्माण गरेको इतिहास छ।
२०७२–७४ मा अमरनारायण मन्दिर तानसेन नगरपालिकाको रेखदेखमा पुरातत्त्व विभागले जीर्णोद्धार गरेको थियो। जीर्णोद्धार गर्दा सबैभन्दा माथिल्लो छानामा पित्तल लगाइएको छ। गजुरमा सुन लेपन गरिएको छ।
बाँकी भागमा पनि पुराना काठ फेर्ने, भत्किएकामा मर्मत गर्ने काम भएको थियो। मन्दिरमा पुरातत्त्व महत्त्वका बहुमूल्य काठका टुँडाल छन्। सहरी विकास मन्त्रालय र पुरातत्त्व विभागलाई तत्काल मर्मतका लागि जानकारी दिएको स्थानीयले बताए।