दाङ। कालोपत्र भएको तीन वर्ष नपुग्दै सहिद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक बिग्रिएर अस्तव्यस्त भएको छ। कालोपत्र गरिएको सडकमै ठूलाठूला खाडल बनेका छन्। प्रायजसो ठाउँमा कालोपत्र नै देखिँदैन, जस्ले गर्दा दुर्घटनाको जोखिम बढेको छ।
ओभरलोड भार बोकेका टिपरकै कारण सडक छियाछिया भएको स्थानीयहरुको गुनासो छ। दाङबाट रोल्पा महत हुँदै कर्णाली प्रदेशको डोल्पा पुग्ने सहिद मार्ग जनयुद्धको समयमा माओवादीले श्रम शिविरमार्फत निर्माण सुरु गरेको सडक हो।
माओवादी सरकारमा गएसँगै सडक विस्तार र कालोपत्रको योजना अगाडि बढेको थियो। २०७५ सालमा कालोपत्र सकिएको एक वर्ष नपुग्दै उक्त सडकको घोराही होलेरी खण्डमा कालोपत्र उप्किएर खाडल बन्न थालेको थियो।
एक्जीम बैंक अफ इन्डियाको सहयोगमा ४० करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक कालोपत्र गरिएको थियो। सडकको भारवहन क्षमताभन्दा धेरै क्षमताका गाडी चल्नु र निर्माण व्यवसायीले कमसल खालको निर्माण सामग्री प्रयोग गर्दा कालो पत्रे एक वर्ष नपुग्दै उप्किन थालेको स्थानीयको गुनासो छ।