काठमाडौं। पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ। मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि सो ठाउँका दैनिकी सहज भएको हो।
गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौतारिनुपर्ने बाध्यताबाट मुक्त भएको स्थानीयले बताए। केही वर्षअघिसम्म खानेपानीको जोहो गर्दैमा दिन बित्थे। भालेको डाकसँगै खानेपानी लिन धारा पँधेरीमा पुग्नुपर्थ्यो, तर अहिले खानेपानीको समस्या टरेको छ। घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिंचाइ गर्दै आएको स्थानीयको भनाइ रहेको छ।
जिल्लाका मध्यभाग र म्याग्दी तथा कालीगण्डकी नदीका तटीय क्षेत्रमा पर्ने गाउँहरु वषौंदेखि खानेपानिको समस्यामा परेका थिए। नागरिकको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिंदै आएको मालिका गाउँपालिकाले जनाएको छ। पश्चिम म्याग्दीमा खानेपानी आयोजना सञ्चालन भएसँगै यस क्षेत्रका आठ हजार बढी घर परिवार लाभान्वित बनेका बताइएको छ।