काठमाडौं। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारण अघि सारेको छ। यहाँका पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको हो।
गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन्।
आकर्षक रङ लगाएर पार्कमा ज्यामितीय गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्नसक्ने तरिकाबाट राखिएको गाउँपालिकाले जनाएको छ। विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहजरूपमा बुझ्ने भएकाले पार्क निर्माण गरी गुणस्तरीय शिक्षका लागि कार्य अगाडि बढाइएको हो।
विद्यालयमा बिहानीको प्रार्थनापश्चात् कक्षाकोठामा प्रवेश गर्नुअघि अनिवार्यरूपमा विद्यार्थीलाई पार्कको अवलोकन गर्न लगाउने व्यवस्था विद्यालयले मिलाएका छन्। पार्कमै गणित विषयका शिक्षकले विद्यार्थीलाई सिकाउँदछन्। गणितलाई जटिल विषयका रूपमा हेर्ने गरिएकाले जटिलता हटाउनका लागि यस कार्यले सघाउ पु¥याउने विश्वास लिएको विद्यालयले बताएको छ।
ज्यामितीय गणितको अध्ययनका कार्यलाई सरलीकृत गर्नका लागि गणित पार्कमा आकृतिहरू निर्माण गरिएको जनाइएको छ। अङ्कगणित, बीजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरीकन एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारणाअनुसार पार्कमै ती गणितका सूत्र र चित्रसमेत आकर्षक ढङ्गले राखिएको बताइएको छ।
पार्क निर्माण ती दुवै विद्यालयलाई रु एक लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको छ। गाउँपालिका क्षेत्रभित्रका अन्य आधारभूत विद्यालयमा समेत यसैगरी गणित पार्क निर्माण गर्दै लैजाने योजना अघि सारिएको छ।
गणित पार्क नेपालमै नौलो अवधारणा हो। भारतलगायतका अन्य देशमा विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरेको भए पनि नेपालका लागि भने यो नौलो अभ्यासका रूपमा प्रयोग भइरहेको छ।