दाङ। तुलसीपुर–घोराही चार लेन सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ। स्तरोन्नति परियोजना लमही फिल्ड कार्यालयले सोमबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन निर्माण कम्पनीलाई निर्देशन दिएको हो।
परियोजनाले निर्माण कम्पनीलाई १५ दिनभित्र देखिने गरी फिल्डमा खट्न आग्रह गर्दै त्यसो नभए ठेक्का तोडिने चेतावनी समेत दिएको छ।
परियोजनाले ठेक्का ताड्नु अघिको यो अन्तिम प्रक्रिया भएको जनाएको छ। तुलसीपुर–घोराही २८ किलोमिटर सडकखण्ड चार लेन बनाउने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रोजेक्टले पाएको छ।
तथ्यका नेपालका एक प्रतिनिधि ठगी मुद्दामा प्रहरी नियन्त्रणमा छन् भने उनी पछिका अर्का प्रतिनिधिको पनि हत्या भएको छ। अहिले उक्त सडकखण्ड बनाउने जिम्मा हेटौंडाका श्रेष्ठ कम्पनीका रोषण श्रेष्ठले पाएको तर त्यसको जानकारी मेलबाट मात्र थाहा भएको परियोजनाले जनाएको छ।
करिब एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का भएको परियोजनामा काम ठप्प भएपछि ठेक्का तोड्ने प्रक्रिया परियोजनाले सुरू गरेको हो। कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै पछिल्लो समय थपिएको स्तरोन्नतिको म्याद सन् २०२२ मे २१ सम्म मात्रै छ।
सन् २०१९ जुलाईबाट कार्य प्रारम्भ गरी मे २०२० मा सडक निर्माण कार्य सम्पन्न गर्ने गरी चार लेनको सम्झौता भएको थियो।