काठमाडौं। संसद्को विकास समितिले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) अनुगमन गरेको छ। विकास समिति सभापति कल्याणीकुमारी खड्कासहितको टोलीले फास्ट ट्रयाकको भौतिक प्रगतिबारे स्थलगत अनुगमन गरेको हो।
संसदीय समितिले फास्ट ट्रयाकको अनुगमनपछि निर्माण कार्य समयमै निर्माण नसकिने निष्कर्ष निकालेको छ । टोलीका सदस्यहरूका अनुसार निर्माण नसकिने अवस्था देखिनुका मुख्य कारण खोकना, बुङ्मतीसँगै आयोजना क्षेत्रमा पर्ने रूख कटान र सुरुङमार्गको सुरुवाती बिन्दुमा थप जग्गा प्राप्ति छन्।
सेनाले भने आर्थिक वर्ष २०८१/०८२ मा फास्ट ट्रयाकको निर्माण सक्ने दाबी गरिरहेको छ । आयोजनाको भौतिक प्रगति भने लक्ष्यअनुसार नदेखिएको समितिले जनाएको छ।
अनुगमन टोलीले आयोजना निर्माण समयमै गर्न देखिएका विवादहरू समाधान छिटो गर्नुपर्ने बताएको छ। नभए मेलम्ची आयोजना जस्तै सुस्त हुने समितिका एक सदस्यको भनाइ छ ।