मोरङ। जोगबनी–कटहरी ब्रोडगेज रेलमार्ग निर्माण कार्यमा ढिलासुस्ती भएको छ। औद्योगिक विकासका लागि निर्माण शुरु गरिएको रेलमार्ग योजनाले गति पाउन नसकेको हो।
रङ्गेली र विराटनगरको हुलाकी मार्गमा रेल सडकबाटै आवतजावत गर्ने कार्यको जनप्रतिनिधिले कडा विरोध जनाएका छन् । हुलाकी मार्गमा रेल प्रवेश गर्ने समयमा बाटो बन्द गरेर रेल प्रवेश गराउने कार्य राम्रो नभएको जनप्रतिनिधिहरुको भनाइ छ। रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले आधा घण्टा बाटो बन्द गरेर राजमार्गलाई ठप्प पार्ने र सोही समयमा अतिआवश्यक सवारी साधान पनि रोकिनु पर्ने कारणले जनताले दुःख पाउने गरेको बताए।
भारतमा कुनै पनि ठाउँमा रेलले बाटो काट्दा बन्द नगर्नुपर्ने र यसका लागि भारत सरकारले त्यहाँ आकाशे पुल वा सडक मुनि प्रवेश मार्ग बनाएर राजमार्गलाई खुला बनाएको हुन्छ । यस्तो अवस्था नेपालमा किन नहुने प्रश्न गर्दै प्रमुख बगडियाले यसका लागि समयमै सोच्नुपर्ने बताए ।
कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले समयमै सुझबुझ गरेर काम नगरे विरोधमा निस्कने र रेलको काम हुन नदिने बताए । धनपाल थान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले दक्षिणी क्षेत्रको महत्वपूर्ण मानिएको हुलाकी राजमार्गमा रेल प्रवेश गराउँदा जनताले दुःख नपाउने गरी काम गर्नुपर्ने हुन्छ, अन्यथा यसको विरोधमा निस्कन बाध्य हुनुपर्ने बताए ।
प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले हुलाकी राजमार्गलाई पार गर्ने रेल योजना जनताको भावना अनुसार नै बढ्नुपर्ने जानकारी दिँदै जनताको भावना र इच्छानुसार नभएको काममा बाधा उत्पत्र हुने बताए । पछिल्लो समय रेल–वे परियोजनाले निर्माणको काम अगाडि बढाइरहेको थियो । तर, कटहरीका केही स्थानीयवासीले जग्गाको मुआब्जामा चित्त नबुझाएपछि पुनः कामले गति लिन सकेको छैन ।
बथनाहा–कटहरी १८ दशमदव ६ किलोमिटर रेलमार्गमध्ये नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किलोमिटर पर्छ ।