काठमाडौं। मर्मत सम्भार नहुँदा जीर्ण भएको कपिलवस्तुको सीमावर्ती कृष्णनगर बजारको सडक कालोपत्रे हुन सुरु भएको छ। कालोपत्रे भत्किएर जीर्ण भएको दुई दशक बढी समय बितेपछि अहिले सडक निर्माण सुरु भएको हो।
उक्त सडक बजार क्षेत्रभित्र रहेको तीन मुख्य सडक लुम्बिनी प्रदेश सरकार र कृष्णनगर नगरपालिकाको लगानीले निर्माण हुन लागेको हो। वर्षौंपछि राज्यले सडक निर्माणमा ध्यान दिएपछि कालोपत्रेको काम सुरु भएको कृष्णनगर नगरपालिकाले जनाएको छ।
भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्ण भएको कारणले यात्रुहरूले निकै सास्ती खेप्दै आएका थिए। लुम्बिनी प्रदेश सरकारको ३ करोडको लगानीमा गोलघर सडक कालोपत्रे सुरु भएको छ।
पालिकाको योजना अनुसार बजार क्षेत्रमा २ किलोमिटर २१७ मिटर कालोपत्रे हुनेछ। कृष्णनगर बजार क्षेत्र भित्रको सबै सडक जीर्ण हुँदा स्थानीय र नेपाल भारत आवत जावत गर्ने नागरिकहरूले सास्ती खेप्दै आएका थिए।