काठमाडौं। पुनर्निर्मित कमल पोखरीको उद्घाटन भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्मित कमल पोखरीको बुधबार उदघाटन गरेका हुन्।
पोखरी उदघाटन गर्दै मेयर शाक्यले विभिन्न अवरोधका बीच पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सफल भएको भन्दै खुसी व्यक्त गरे। उदघाटनको बेला कमलपोखरीलाई झिलिमिली बत्तीले सिंगारिएको थियो ।
करीब ६ करोड ३६ लाख रुपैयाँ खर्चिएर वास्तुशास्त्र र परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै कमल पोखरी पुनर्निर्माण गरिएको महानगरपालिकाले जानकारी दिएको छ।
कमलपोखरीमा चार ओटा कुनामा चार ओटा र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच ओटा आकर्षक मण्डप रहेका छन्। पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ भने पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ। पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना हालिएको छ । विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधारा समेत राखिएको छ ।