सल्यान। जिल्लाको छत्रेश्वरी गाउँपालिका– ६ शंखमूलमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शंखपार्क निर्माण गरिएको छ। करिब एक करोड ६० लाख खर्चमा पार्क निर्माण गरिएको हो।
उक्त पार्कमा निर्मित शंखको प्रतिमा नेपालकै ठूलो रहेको दाबी गरिएको छ। शंखमूलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा नै शंख बिर्सेका कारण उक्त कुण्डको नाम शंखमूल रहन गएको धार्मिक विश्वास रहेको छ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको शंखमूललाई थप संरक्षण तथा प्रवद्र्धन गर्न नेपालकै ठूलो शंख निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। पार्कभित्र शिव पार्वतीको विशाल मूर्ति, शंख, पानीको फोहोरा, पौराणिक झल्को दिने घर, चौतारा लगायतको पूर्वाधार निर्माण गरिएको बताइएको छ।