काठमाडौं। गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स खुलेको छ। हेडवर्क्स खुलेसँगै सुरुङको सफाई अन्तिम चरणमा पुगेको हो।
सुरुङको सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको आयोजनाले जनाएको छ। पहिरोसँगै आएको बाढीले आयोजनाको मुख्य द्धार (बफर जोन) नौ नम्बर ढोका (हेडवर्क्स), अम्बाथानतर्फका १७ र २१ का ढोका पूरै थुनेको थियो।
बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवर्क्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको आयोजनाले बताएको छ। मुख्य हेडवर्क्सको ढोका खुलेको र मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको आयोजनाका इन्जिनियरले बताएका छन्। बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाडौं पानी ल्याइने सरकाको लक्ष्य रहेको छ।