सल्यान। दाङ–सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ। स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते भएको बताइएको छ।
सल्यानको कपुरकोट–३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ठूला–ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको बताइएको छ।
अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको छ। जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।
दाङबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ। आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले बताएको छ।