काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले ताप्लेजुङको श्रीजंगा गाउँपालिकास्थित–३ मा रहेको खानेपानी आयोजना स्किम नं १,२ र तीनको बुधबार उद्घाटन गरेका छन्। उक्त आयोजनाको उद्घाटन गर्दै मन्त्री चौधरीले स्वच्छ र शुद्ध खानेपानीको सुविधा आमनागरिकलाई पर्याउन सरकारले पानीको स्रोत रसंरक्षणको नीति लिएको बताएका हुन्।
उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको पनि बताए। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा उक्त आयोजना निर्माण गरिएको हो। सो खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्वर वडाका २ सय ३५ घर धुरीका १ हजार ४ सय १० जनसंख्या लाभान्वित भएका छन्। खानेपानीको लागि लामो समय खर्चिनुपरेको पिडा बताउदैँ उक्त आयोजना आएसँगै आफुहरुको दैनिकि नै फेरिएको स्थानीयले बताए।
यसैगरी, खानेपानीमन्त्री चौधरीले बुधबार नै श्रीजंगा गाउँपालिकाको प्रशासकिय भवनको एक समारोहबीच उद्घाटन गरेका छन्। २०७५ सालमा शिलान्यास भई गत पुस महिनामा निर्माण सम्पन्न भएका ९ वटा संरचनाको मन्त्री चौधरीले उद्घाटन गरेको गाउँपालिकाले जनाएको छ। सो अवसरमा नवनिर्मित संरचनाहरु प्रमुख प्रशासकिय भवन, पावर हाउस, अतिथि गृहसहित ९ वटै संरचनाको मन्त्रीचौधरीले अवलोकन गरेका थिए।