काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित धार्मिक महत्व बोकेको अकलादेवी मन्दिर पुनर्निर्माण सकिएको छ। पशुपतिनाथ मन्दिरको शैलीमा अकलादेवी मन्दिरको पुनर्निर्माण गरिएको हो।
विसं २०७६ वैशाख १६ गतेदेखि पुनर्निर्माण थालिएको मन्दिरको काम हालै सम्पन्न भएको मन्दिर निर्माण समितिले जनाएको छ। उक्त मन्दिर रु ८० लाखको लागतमा मन्दिर निर्माण भएको छ। मन्दिरमा तामाको छानो राखिएको छ। छानो राख्नका लागि मात्रै रु १२ लाख भन्दा बढी खर्च भएको बताइएको छ।
उक्त ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्य सहित पूर्वाधार निर्माणको कामलाई पनि सुरु गरिएको छ। त्यहाँ शिवालय मन्दिर, मूल प्रवेशद्वार, वनभोजस्थल, हरित उद्यान, भजनकिर्तनको भवनका पूर्वाधार बनेका छन्।
गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका लगायतको सहयोगमा यहाँ पूर्वाधार निर्माणको काम गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजना बमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको बताइएको छ। मन्दिर पुनर्निर्माणका लागि समितिले महायज्ञ गरेर रु एक करोड सङ्कलन गरेको थियो।
विसं २०४२ सालदेखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन्। त्यो बेला तत्कालिन प्राज्ञ पण्डित गङ्गाधर घिमिरे लगायतले स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि यो दैवीशक्ति हो यसको संरक्षणका लागि काम शुरु भएको थियो।