काठमाडौं। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा पुल निर्माण हुने भएको छ। सो गाउँपालिकाको चार र पाँच नं वडामा पुल निर्माण हुने भएको हो।
उक्त पुल भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सिमकोट हुम्लाले निर्माण गर्ने भएको हो। याङ्चुबगर, पालिका केन्द्र, तुमलिक र कर्णाली नदीलाई जोड्ने गरि सो पुल निर्माण गरिने भएको छ। पुलको अभावमा आवतजावत गर्न निकै समस्या भएको गाउँपालिकाले जनाएको छ। पुल नहुँदा आफुहरुले भाग्दै आएको समस्या सुनाउदै अब पुल निर्माण हुने भएपछि आफुहरु खुशि भएको स्थानीयले बताएका छन्।
पुल निर्माणको जिम्मा तिन वटा निर्माण कम्पनीले पाएका छन्। जसमा सुर्य निर्माण कम्पनी, एच.एम निर्माण कम्पनी र स्रेया निर्माण कम्पनी जेभीले पाएका छन्। पुल निर्माण र पुलको डिजाइन निर्माणको जिम्मा पाएका कम्पनीहरुलेनै गर्नु पर्ने छ। ठेक्का पाएका निर्माण कम्पनीहरुले १७ करोड १७ लाख २५ हजार ४ सय ७५ रुपैँयाको लागतमा निर्माण गर्ने भएका छन्। सम्झौंता भएको समयअवधिमै पुलको डिजाइन गरी निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीहरुले दाबी गरेका छन्।
उक्त क्षेत्रमा पुल निर्माण भएसँगै सर्वसाधारणलाइ सहज हुनका साथै यातायातको सेवा पनि सहज रुपमा स्थानीयले उपभोग गर्न पाउने भएका छन्।