काठमाडौं। महोत्तरीको बलवा नगरपालिकास्थित रातो नदीको पुल जोखिमपूर्ण रहेकाले स्थानीयवासीहरुले बाटो अवरुद्ध गरेका छन्। बाटो अवरुद्ध गरेर उनिहरुले तत्काल मर्मत सम्भारको माग गरेका हुन्।
जनकपुर–भ्रमरपुरा–बलवा हुलाकी सडकखण्ड अन्तर्गत पर्ने महोत्तरीको बलवा नगरपालिकाको बनचौरीस्थित रातो नदीको पुलमुनि खाडल छ। सो पुलमुनिको माटो नै नरहेपछि निकै जोखिम पूर्णरुपमा सवारी साधन संचालन हुँदै आएको स्थानीयले बताएको छन्।
स्थानीयले लामो समयदेखि आवाज उठाउँदा पनि सरोकारवालाले वास्ता नगरेपछि बाध्य भएर सडक अवरुद्ध गरेको बताएका हुन्।
जोखिमपूर्ण पुल हुँदै चारपाङ्ग्रे सवारीसाधन समेत संचालन गर्दा पनि सोको मर्मत सम्भारका लागि ध्यान नदिँदा स्थानीयवासीहरुले सो पुललाई घेरबार गर्दै सडक अवरुद्ध गरेको नगरपालिकाले जनाएको छ।
पुलसँगै बनेको खाडलको कारण सवारी दुर्घटना बढेको भन्दै स्थानीयबासीले तत्काल सडक तथा पुल मर्मत बनाउनु पर्ने माग गरेका छन्। सडक नबनाइए पुरै सडक जाम गरीने स्थानीयले चेतावनी समेत दिएका छन्।