काठमाडौं। पशुपति विकास कोष र बतास समूहबीच पशुपतिस्थित धर्मशालाको विषयलाई लिएर घम्साघम्सी परेको छ। विकास कोषले धर्मशाला खाली गर्न दिएको निर्देशन बतास समूहले अटेर गरेको भन्दै कोषका पदाधिकारीले भवन खाली गराउन खोज्दा दुई पक्षबीच शुक्रवार बिहानैदेखि भएको असमझदारीले सञ्चारकर्मी समेत थुनिन पुगेका थिए।
पशुपति क्षेत्र स्थित धर्मशालामा व्यापारी बतास समूहले सञ्चालन गरेको होटलको विषयलाई लिएर उक्त क्षेत्र शुक्रवार बिहानैदेखि तनावग्रस्त बन्न पुग्यो । सरकारले यसअघिनै धर्मशाला नियम विपरित सञ्चालन भएको भन्दै खाली गराउन बतास समूहलाई निर्देशन दिएको थियो । तर बतास समूहले खाली गर्न अटेर गर्दै गेटमा ताल्चा लगायो ।
कोषका पदाधिकारी होटल परिसर निरीक्षण गर्न जाने क्रममा बतास समूहले शुक्रबार धर्मशालाको गेटको ताल्चा नखोलेपछि कोषले पनि गेटमै अर्को ताल्चा लगायो । त्यही दौरान समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरु समेत थुनिन पुगेका थिए ।
शुक्रवार पशुपति विकास कोषका पदाधिकारी धर्मशालामा रहेका सरकारी स्वामित्वमा रहेका सरसामान कस्तो अवस्थामा छन् भनेर निरीक्षण गर्न पुगेका थिए । तर करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल पुगेको सरकारी टोलीलाई भित्र छिर्न नदिएपछि कोषले पनि होटलमा अर्को ताला लगाएको छ । साथै कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन समेत सूचित गरेको छ ।
उता बतास समूहका प्रतिनिधि (होटेलका व्यवस्थापा) जेपी पोखरेल होटल सञ्चालन र सम्झौताको विषय कानूनी प्रकृयामा रहेको र सर्वोच्चको अन्तिम फैसला आउनु अगावै सरकारी टोली तालाबन्दी गर्न आएकाले गेट नखोलेको बताउँछन् ।
दुई पक्षको विवादले गरिखाने आफू जस्ता कर्मचारीहरु अलपत्र पर्ने अवस्था आएको बतास समूहले सञ्चालन गरेको होटलमा कार्यरत कर्मचारीहरूले दुखेसो गरेका छन् ।