दाङ। बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ। घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरिएको हो।
सानो लगानीमा निर्माण गरिएको उद्यानले उक्त क्षेत्रको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगरपालिकाले जनाएको छ। वातावरण स्वच्छ राख्न, शीतलताका लागि सानो लगानीबाट पनि काम गर्न सकिन्छ भन्ने उदाहरण भएको छ।
पालिकाले बनाइदिएको साझा सम्पत्तिलाई अब स्थानीय टोलवासीले संरक्षण गर्न र यसको दिगो व्यवस्थापन समेत आग्रह समेत गरिएको छ। उक्त उद्यानले बटुवा र टोलवासीलाई शीतलता दिने छ।
उद्यान निर्माण भएपछि स्थानीयवासी निकै खुसी भएको बताइएको छ। फूलबारी, शीतल हावाले बाटोमा हिँड्ने जो कोहीलाई पनि आर्कषण गर्ने गर्दछ।